images
images

बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सककाे आन्दोलनका कारण पठनपाठन प्रभावित

काठमाडौं–बीपी प्रतिष्ठानका शिक्षक,कर्मचारी र चिकित्सकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बढुवाको माग गर्दै बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

गत पुस २९ गतेदेखि शुरू भएको शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनले पठनपाठन र परीक्षाका कार्यक्रम ठप्प भएका छन्। आन्दोलनका कारण प्रतिष्ठानको पठनपाठनसँगै कामकाज पनि प्रभावित भएको छ। यसअघि पनि गत भदौ १३ गतेदेखि २४ गतेसम्म तथा असोज २२ देखि कात्तिक २० गतेसम्म पनि शिक्षकले आन्दोलन गरेका थिए।

लामो समयदेखिको आन्दोलनका कारण पढाई प्रभावित बनेको भन्दै विद्यार्थीहरुले तत्काल पठनपाठन शुरू गर्न माग गरेका हुन्। विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले प्रेस विज्ञप्ति जारी गरी शिक्षक(कर्मचारीको आन्दोलनले पठनपाठन बन्द हुँदा संविधानप्रदत्‍त अधिकार हनन भएको उल्लेख गरेका छन्।

पठनपाठनसँगै परीक्षा सञ्चालनका लागि कामकाज सञ्चालन गर्न उनीहरूले माग गरेका छन्। तत्काल पठनपाठन सञ्चालन नभए आन्दोलनमा उत्रिने विद्यार्थी कल्याण समाजले चेतावनी दिएको छ।

त्यस्तै, धरान उपमहानगरपालिका-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले पनि प्रतिष्ठानको विवाद समाधान गर्न आग्रह गरेका छन्। शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनले सेवा प्रभावित भएको भन्दै वडाध्यक्ष राईले तत्काल विवाद समाधान गरेर सेवा प्रवाह गर्न अपील गरेका हुन्।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS