images
images

महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजलको श्रव्यदृश्य सार्वजनिक

काठमाडौं–महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।

मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा डा कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गरेका हुन । महाकवि देवकोटाको नाटक ‘सावित्री सत्यवान’ मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई गायक सन्तोष श्रेष्ठको स्वरमा बजारमा ल्याइएको हो ।

प्रा.डा. बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेला पारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा खुसी व्यक्त गरे । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो बनाउँदै गएको उल्लेख गर्दै उनले महाकवि देवकोटाको कृतिबारे चर्चा गरे ।

समालोचक घनेन्द्र ओझाले गजलमाथि टिप्पणी गर्दै महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताए । झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुसीको कुरा भएको बताए ।

महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गरे । कार्यक्रममा महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।