images

विनोद चौधरीका भाइ अरुण चौधरीलाई छोड्न प्रहरीलाई प्रधानमन्त्री दाहालको दबाब

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी अरुण चौधरीलाई छोड्न प्रहरीलाई दबाब दिएका छन । प्रहरीले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गालाई कानून विपरित निजिकरण गरेको आरोपमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी हिजो पक्राउ गरेको थियो ।

पक्राउ परे लगत्तै प्रधानमन्त्रीले उनलाई छुटाउन प्रहरीमाथि अनावश्यक दबाब बढाएका हुन् । प्रधानमन्त्री दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवा, उद्योगी व्यवसायी र दक्षिणको समेत दबाब रहेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार प्रहरीले भने प्रधानमन्त्रीको दबाबमा नआउने संकेत गरेको छ । गृह मन्त्रालयको निर्देशन नआई छोड्न नमिल्ने, त्यसमाथि प्रकृया अगाडि बढिसकेकाले प्रकृयामा नगई यो मुद्दा नटुंगिने अडानमा प्रहरी रहेको बुझिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत यसबाट पछाडि नहट्ने मुडमा रहेका छन । चौधरी लगायतको पक्राउ गृहमन्त्रीको एकल निर्णयमा भएकाले पनि प्रधानमन्त्री दाहाल झस्किएको बुझिएको छ ।

हिजो उद्योगी चौधरीसहीत, छालाजुत्ता उद्योगका सञ्चालक समितिका तत्कालिन कार्यकारी प्रमुख अजित नारायण सिंह थापा र सिजि चाँदबागका अध्यक्ष सञ्जय ठाकुर समेत पक्राउ परेका थिए । पक्राउ परेपछि स्वास्थ्यका कारण भन्दै उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।