images
images

धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि ओलीले ८ नेतालाई काठमाडौं बोलाए

काठमाडौं–नेकपा एमाले जिल्ला कमिटी धादिङको अधिवेशनका क्रममा कुटाकुट भएपछि अध्यक्ष केपी शर्मा ओलीले विशेष चासो देखाएका छन् । जिल्ला अधिवेशनको बन्द सत्रमा कुटा भएसँगै धादिङको अधिवेशन स्थगित भएको छ ।

विवादबारे बुझ्न अध्यक्ष केपी शर्मा ओलीले ८ जना नेताहरूलाई काठमाडौं बोलाएका छन्।  ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन्।

अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनी सहितका नेतालाई पार्टी कार्यालय च्यासल बोलाएका हुन्।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मीनराज कँडेल सहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएको एक सदस्यले जानकारी दिए।

उनीहरूसँग अध्यक्ष ओलीले आइतबार अपराह्न ४ बजे छलफल गर्ने भएका छन्।अहिले ओली गुटमै कार्यकर्ताहरु उपगुट बनाएर लडिरहेका छन् ।जिल्ला अधिवेशनमा अध्यक्ष ओली समूहकै दुई गुटको लडाइँ देखिएको हो। निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन्।

उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको थियो। जिल्ला अधिवेशन पनि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।