images

प्रधानाध्यापक नियुक्ति विवादित, अदालतको आदेश अवज्ञा गर्दै पठनपाठन प्रभावित

नरेशचन्द्र बरबरिया

सिरहा- सिरहा नगरपालिका–१२, सारस्वरस्थित सारस्वर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विषयमा जारी विवादका कारण पठनपाठनमा अवरुद्ध भइरहेकाे छ ।

अदालतको आदेश लिएर आएका प्रधानाध्यापकलाई हाजिर हुन नदिएपछि विद्यालयमा विवाद देखिएको हो । नगरपालिकाले विद्यालयका तत्कालिन प्रधानाध्यापक मो. सनाउल्ला राइनको गत बैशाख २९ मा सिरहा नगरपालिका–२२, हकपारास्थित श्री माध्यमिक विद्यालयमा सरुवा गरिदिएको थियो । तर, सोविरुद्ध उच्च अदालत जनकपुर राजविराज गएका राईनको सरुवा अदालतले गत असोज १४ मा बदर गरी साविककै पदमा हाजिरी गराउन आदेश दिएको थियो ।

उक्त आदेशपछि नगरपालिकाले गत पुस २३ मै राइनलाई हाजिर गराई जानकारी पठाइदिन विद्यालयलाई पत्र काटेको छ । तर, राइनको सरुवा भएपछि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका जयचन्द्र यादवले भने उनलाई हाजिर हुन दिएका छैनन् ।

राइनलाई हाजिर हुन नदिएपछि त्यसयता विद्यालयमा निरन्तर रुपमा विवाद हुँदै आइरहेको छ । जसका कारण विद्यालयमा पठनपाठनमै समस्या उत्पन्न भएको गुनासो अभिभावक भोगेन्द्र साहको गुनासो रहेको छ । नगरपालिकाले राइनलाई हाजिर गराउन आधिकारिक पत्र नै काटिदिए पनि विद्यालयका हालका प्रध्यानाध्यापक जयचन्द यादव भने सबै निकायसँग सल्लाह गरी हाजिर गराउने कुरा एक महिनादेखि दोहोर्याउँदै आएका छन् ।

यस विद्यालयको विवादबारे सबै सरोकारवाला निकाय जानकारी भएपनि यसलाई निकास दिन चासो नदिँदा विवाद झन्झन् बल्झिँदै गएको छ ।