images
images
images

चेपाङ परिवारकाे गुनासाे,सन्तानको जन्मदर्ता र नागरिकताको पिरलो छ

प्रमाेद सहनी

मकवानपुर–आफ्नो वास्तविक उमेर पनि बताउन नसक्ने हेटौंडा– १४ कि दिलमाया प्रजाको जेठी छोरी २२ वर्षकी भइन् । १ छोरीसहित २ वटा छोराहरु पनि १६ वर्ष कटिसकेका छन् । उनीहरुले विद्यालय भर्नासमेत गरेनन् । दुइछाक टार्नसमेत मुस्किल पर्ने न्यूनवर्गीय चेपाङ परिवारलाई अहिले भोकको चिन्ता भन्दा पनि सन्तानको जन्मदर्ता र नागरिकताको पिरलो छ ।

सात वटा सन्तानका बाबुआमा दिलमाया र शंकर एक वर्षअघिदेखि छोराछोरीको जन्मदर्ता र नागरिकता कसरी बनाउन सकिन्छ भनेर भौतारिइरहेका छन् ।

हुर्केका छोराछोरी बाहिर काम खोज्न जाँदा नागरिकता अनिवार्य चाहिने भन्ने थाहा पाएपछि चेपाङ दम्पतीले नागरिकता बनाउने प्रक्रिया सुरु गरे तर, ती दम्पतिको बिहे दर्ता नै नभएकाले समस्या त्यहिँबाट सुरु भयो । बिहे दर्ता गर्न खोज्दा दिलमायाको माइतीपट्टीको कसैको पहिचान नहुँदा न उनको जन्मदर्ता र नागरिकता बन्यो, न नागरिकता नभई बिहे दर्ता बन्ने भयो । आफ्नो माइती गाउँ हेटौंडा–१५ को रातोमाटे बताउने दिलमाया उमेर नपुग्दै बिहे गरेर नयाँबस्ती आएकी हुन् ।

उनको बुवा आफू सानै हुँदा बेपत्ता भएको र आमाले दोस्रो बिवाह गरेको कारण माइती पट्टीबाट बुबाआमाको नागरिकता ल्याउन समस्या भएको उनको भनाइ छ । आफ्नो भाइले भने नागरिकता बनाएको भन्ने सुनेकी दिलमायालाई भाइको नागरिकताबाट पनि आफ्नो नागरिकता बन्नसक्छ कि भन्ने अनुमान चाहिँ छ, तर कसैबाट उचित सल्लाह पाएकी छैनन् ।

‘बुबाआमा नभए पनि मेरो भाइको नागरिकता चाहिँ बनेको छ भन्ने सुनेको छु, तर, भाइको नागरिकता देखाएर मेरो पनि बन्थ्यो कि, त्यो बारे चाहिँ सोधखोज गरेको छैन । अब बुझ्न पर्ला ।’ उनले भनिन् –‘नागरिकता बनाउन जन्मदर्ता बनाउन पर्छ भन्ने कुरा नै थाहा थिएन, अहिले छोराछोरी ठुलो भए बाहिर काम गर्छु भनेर निस्किएपछि जन्मदर्ता र नागरिकता चाहियो भनेपछि बनाउन पर्यो भनी वडा जाँदा वडाबाट आमाको बने पछि मात्र सन्तानको बनाउन मिल्ने भने ।’

 

सम्पत्तिको नाममा जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाएको घरबाहेक उनीहरुसँग केही छैन। घाँस र दाउरा बेचेर बिहान बेलुकाको छाक टार्ने गरेको उनीहरु सुनाउँछन् । जन्मदर्ता नभए पछि स्कुल गइरहेका छोराछोरी पनि जन्मदर्ता नहुँदा बिद्यालय पठाउन पनि समस्या पर्छ भनेर विद्यालयबाट खबर आएको उनले सुनाइन् ।

 

दिलमायाको श्रीमान ४७ वर्षीय शंकर प्रजाको भने नागरिकता छ । शंकरको नागरिकता भएता पनि छोराछोरीको जन्मदर्ता गर्न बिहे दर्ता अनिवार्य हुने भएपछि उनीहरु समस्यामा परेका हुन् । बिहे दर्ता गर्न दिलमायाको नागरिकता र नागरिकता बनाउन जन्मदर्ता अनिवार्य हुने नै भयो ।

न्युन वर्गीय चेपाङ परिवारलाई कसरी छाक टार्ने भन्ने समस्याका बीचमा छोराछोरीका जन्मदर्ता र नागरिकताको पिरलो थपिएपछि उनीहरु अताल्लिएका छन् । ‘हामी दुइजना नै दाउरा घाँस गर्छौँ, बेच्छौँ दुइभारी दाउरा घाँस बेचेर छोराछोरीलाई लाउनखान दिनै मुस्किल छ, कपीकलम किन्न त झनै मुस्किल पर्छ ।

शंकरले भने–‘पेट भर्ने पीरसँगै भुराहरुको नागरिकताको पीर पनि थपिएको छ ।’

शंकर प्रजा चेपाङ दम्पती भन्छन्– भोकको भन्दा सन्तानको जन्मदर्ताको पिरलो भयो भकानिदै भने मान्छेले फालेको लुगाहरू लगाएर बस्नु पर्या छ। यी चिसोको मौसम मा बाटोमा भालेको लुगा टिपेर लगाइरहेको छु।

 

शंकरले ५ धुर जग्गामा दुई कोठाको घर बनाएका छन् । घरभित्र न त अन्नको दाना छ, न त आवश्यकता अनुसारको भाँडाकुँडा, लत्ताकपडा ओढ्ने ओछ्याउने नै छ । चामल राख्ने भाँडो देखाउँदै शंकर भन्छन् ‘छैन हजुर अन्न भाडो रित्तै छ । काम गर्न नसकेको दिन कसैले उधारो दिएन भने भोकै भइन्छ ।’ शौचालय समेत बनाउन नसकेको कारण उनीहरु बोराले बारेर घर पछाडि नजिकै खुल्ला शौचालय गर्न बाध्य छन् ।

आफ्नो नागरिकता भएर पनि छोराछोरीको नागरिकता बनाउन नपाउदा छोराछोरी अनाथ सडकबाटै उठाएर ल्याएको जस्तो भएको शंकर गुनासो गर्छन् । वडा नम्बर १४ स्थित नयाँबस्तीमा प्रजा समुदायको बाहुल्यता बढी छ र पिछडिएका र अशिक्षित पनि धेरै छन् । त्यहाँका बालबालिका विद्यालय भन्दा बढी बगरमा बालुवा चाल्ने र ट्याक्टर चलाउनेमा बढी रमाउने गरेको पाइन्छ ।

 

वडा नम्बर १४ का वडाध्यक्ष दीपक खड्काले भने दिलमाया र शंकरको समस्याको विषयमा सँग टेलिफोन कुराकानी गर्दा अस्पष्ट जवाफ दिए । मलाई यस विषयमा कुनै जानकारी नभएको बताए। स्पष्ट रुपमा कुरा नबुझी भोलि भोलि आउनु भनेर उनले फोन काटिदिए । पछि सम्पर्क गर्दा फोन उठाएनन् ।

आमाको जन्मदर्ता नहुँदा, विवाह दर्ता नभएको र त्यस्तो अवस्थामा सन्तानको नागरिकता सहज तरिकाले बन्न गाह्रो हुने बताउँदै वडा अध्यक्ष र वडा सचिवसँग समन्वय गरी जन्मदर्ता बनाउन पहल गर्ने प्रतिवद्धता जनाइन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS