images

मेला महोत्सवमा घन्किने गीतको रोयल्टी उठाउने तयारी, सुरेश अधिकारी भन्छनः कडा अप्रेशन गर्दैछौँ

काठमाडौ- संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा लोकप्रिय संगीतकार सुरेश अधिकारीले मेला महोत्सवमा प्रस्तुत गरिने गीतसंगीतलाई रोयल्टीको दायरामा ल्याउन कडा कानुनी अप्रेसनको तयारी भइरहेको बताएका छन् ।

नेपाली गीत संगीतका श्रष्टा सर्जकहरुले रोयल्टीबारे संकलन समाजको जवाफ मागिरहेका बेला अधिकारीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन । कडा अप्रेसन गर्दा कारवाहीको दायरामा आउने सम्भावित व्यक्ति तथा संस्थालाई यसप्रति सचेत रहन उनले कडा चेतावनी समेत दिएका छन ।

रोयल्टी संकलन समाज एक्शनमा गएपछि कसैको गुनासो नसुन्ने उनको भनाई छ । अधिकारीले रोयल्टी अधिकार सुनिष्चित गर्न सम्पूर्ण श्रष्टाहरुलाई संगठित हुन समेत आब्हान गरेका छन । “अब स्रष्टा सर्जकहरु, उत्पादक र आफ्ना गीतहरु अरुले गाई दिएर अन्यायमा परेका ओरिजिनल प्रस्तोताहरु समेत संगठित हुनु जरुरी छ ।” उनी अगाडि भन्छन “आफ्नो अधिकार हनन् हुन नदिन एउटा गहन कदम चाल्नु छ र त्यस सम्बन्धमा स्रष्टा प्रस्तोता उत्पादक र आयोजकहरुबीच सहकार्यको खाँचो छ ।” फेसबुक पोष्टमा ब्यंग्यात्मक शैलीमा पोखिएका समाजका अध्यक्ष तथा संगीतकार अधिकारीले रोयल्टीलाई बेवास्ता गर्दै मञ्चमा उफ्रिने गायक गायिका, बिचौलिया तथा आयोजकहरुमाथि समेत प्रहार गरेका छन् ।

उनले लेखेका छन ”अहिले देशभर महोत्सवको माहोल छ । गायक–गायिकाहरु भ्याईनभ्याई व्यस्त हुनुहुन्छ । महोत्सव आयोजकहरु मात्रै हैन, कलाकारहरुको ठेक्का लिने बिचौलियाहरु पनि राम्रै कमाइबाट सन्तुष्ट हुनुहुन्छ । तर महोत्सवको रौनक बढाउने र मनोरञ्जनमय माहोल सिर्जना गर्ने त्यति राम्रा शब्दहरु र धुनहरु सिर्जना गर्ने रचनाकार, संगीतकार, स्रष्टा–सर्जकहरु महोत्सवबाट आफूले पाउनुपर्ने रोयल्टीबाट पूर्णतया विमुख,शोषित र पीडित हुनुहुन्छ ।” उनी आक्रोश मिश्रित गुनासो गर्दै अगाडि लेख्छन “जताततै म्युजिक ट्र्याकहरु प्रयोग भएका छन, ट्रयाकमा लगानी गर्ने ध्वनिअङ्कन उत्पादकहरु चिल्लै र जिल्लै छन् ।”

मेला महोत्सव लगायत गीत संगीतको सार्वजनिक प्रयोग वापत श्रष्टा सर्जकको रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था छ । संगीत रोयल्टी संकलन समाज कानूनप्रदत्त अधिकारको कार्यान्वयनका लागि राज्य र अन्य पक्षसँग लड्दै आएको छ । लोकप्रिय संगीतकार सुरेश अधिकारीले विगत लामो समयदेखि समाजको नेतृत्व गर्दै आएका छन ।