images

अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरी रानीपोखरीमा सरूवा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ ।

उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पका प्रहरी कार्यालयमा सरुवा गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् ।

माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानसँग विवाद हुँदा प्रहरीहरूले उनलाई कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । अधिकृतलाई चेकजाँच बिना भित्र जानबाट रोक्ने जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ ।

समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई भने जिम्मेवारीबाट हटाएर विभागीय कारबाही मात्रै सिफारिस गरेको छ ।