images
images

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रीय समिति बैठकमा जवाफ दिने

काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार महिने रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्टमाथि जवाफ दिने भएका छन् ।

सबै प्रदेश इन्चार्ज र अध्यक्षले माओवादी विशेष चार महिने रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट आइतबार बैठकमा पेस गरेका छन् । बैठकमा सम्बन्धित प्रदेश इन्चार्जहरूले अभियानमा नेता तथा कार्यकर्ताहरूमा तीन प्रवृत्ति देखिएको ब्रिफिङ गरेका थिए ।

पहिलो तहमा इमान्दार भएर काम गर्ने, दोस्रो अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने प्रवृत्ति देखा परेको इन्चार्जहरूले रिपोर्ट पेस गरेका थिए ।चार महिने अभियानले नेताहरूको कामको मुल्याङ गर्ने आधार बनेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ । बैठकमा वर्ग छोड्दा पार्टी कमजोर भएको हो कि भन्ने धारणा आएको उनले जानकारी दिए ।

अभियानमा खट्दै नखट्ने नेताहरूमाथि कारबाही र पार्टीको नीति, विधि र प्रक्रियामा रहेर काम गर्ने नेता तथा कार्यकर्तालाई प्रोत्साहनमा पार्टीले ध्यान दिने प्रवक्ता सापकोटाले बताए । यसअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले काम नगर्ने नेताहरूमाथि कारबाही हुने चेतावनी दिएका थिए ।