images

भिसी नियुक्तीका लागि फरक-फरक मापदण्ड बनाएको भन्दै उजुरी

काठमाडौं– विभिन्न विश्वविद्यालयका उपकुलपति (भिसी) नियुक्तिका लागि फरक फरक मापदण्ड बनाएको भन्दै उजुरी दर्ता गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको भिसी नियुक्तिका लागि मापदण्ड फरक फरक भएको भन्दै प्रधानमन्त्री कार्यालयदेखि संसद्को शिक्षा समिति सम्ममा उजुरी दर्ता गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक सङ्घले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दर्ता गराएको हो ।

सङ्घले विश्वविद्यालयका उपकुलपति छनोट गर्ने प्रक्रिया विभिन्न विश्वविद्यालयका ऐनले व्यवस्था गरेको सिफारिस समितिको प्रावधानको विपरीत दाबी गरेको छ । यति बेला त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ४ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । त्रिविको नियुक्ति तथा सिफारिस अन्तिम चरणमा पुगेको छ भने पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको दरखास्त आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको तुलनामा अन्य विश्वविद्यालयको मापदण्ड कडा बनाइएको भन्दै विरोध सुरु भएको छ । प्रावधानले गर्दा केहि संकायका प्राध्यापकहरू छनोट हुनै नसक्ने प्रावधानहरू रहेको सङ्घको दाबी छ । मातृभाषा नेपालीमा गरिने अनुसन्धानप्रति आफ्नै मुलुकभित्र पनि स्पष्ट बेवास्ता गरेको देखिएको सङ्घले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

योग्य उपकुलपति चयनका लागि बनाइएको छनोट समिति र तिनले बनाएका मापदण्ड विवादास्पद रहेकाले उक्त प्रक्रिया रोकी नियमअनुसार अर्को व्यवस्था गर्न माग गरेको हो ।