काठमाडौं– त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमला मध्येबाट एक जनालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि सिफारिस समितिले तीन जनाको नाम चयन गरेको हो । त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ (२) बमोजिम उक्त तीनमध्येबाट प्रधानमन्त्री एवं कुलपतिले एकलाई नियुक्त गर्नेछन् ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको कमिटी गठन गरेका थिए ।
विवादित व्यक्तिलाई नै सर्टलिस्टमा राखिएको भन्दै चर्को विवाद भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको अन्तरर्वार्ता भएको छ । प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले आइतबार अन्तर्वार्ता लिएका हुन् । नयाँ उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकोमा १४ जनालाई सर्ट लिष्टमा राखिएको थियो ।
अन्तरवार्ताबाट समितिले ३ जनाको नाम छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्टलिष्टमा रहेका नामहरुबाट नियुक्ती गर्दा विवादित व्यक्ति नै त्रिविको उपकुलपति बन्ने सम्भावना देखिएको छ ।