images

कर्फ्युका बाबजुद पनि वीरगन्जमा प्रदर्शन, अवस्था तनावग्रस्त

वीरगन्ज– कर्फ्यु लगाउँदाका बाबजुदपनि वीरगन्जमा मंगलबारपनि अवस्था तनावग्रस्त रहेको छ। सोमबार दुई फरक धर्म समुदायकाबिच झडप भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा तनाव उत्पन्न भएसँगै साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुनः लागु गरिएको छ।

कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा दुबै समुदायहरुले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो।घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेको छ।त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएको छ।त्यहाँबाट प्रहरीले ६ जना युवालाई र गहवा बाट ३ जना युवालाइ नियन्त्रणमापनि लिएको छ।

मंगलबारपनि बिहानैदेखि वीरगन्जका चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच भएको विवादलाई लिएर वीरगन्जमापनि सोमबारदेखि दुई फरक धर्म समुदायबीच तानाव सृजना भएको हो।सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

यसअघि सोमबार दिउँसोदेखि केहि हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबिच ठाँउ ठाँउमा झडप भएको थियो ।यस्तै हिन्दुवादीहरुले बजार बन्द गराउने क्रममा केहि पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समुहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस्तै हिन्दुवादीहरुले जुलुश निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

तर त्यसपछि वीरगन्जकै इदगाह चोकमा मुस्लिम समुदायका केहि युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएको थियो ।त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भिड तितरबितर पार्न १० राउन्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

यसअघि हिन्दु समाज नामक समुहको अगुवाइमा हिन्दुवादीहरुले रौतहट,महोतरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।