images
images

साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक

भक्तपुर– उमेरले नब्बेको हाराहारीमा पुग्नै लागेका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवन्त बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन गरिएको हो ।

भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमकाबीच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका हुन् ।

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे ।

उनले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा समेत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताए । उनले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे । उनले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको बताए।

कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने बताए ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS