images

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्दै

काठमाडौं– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियाको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार विहान ११ः३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टि२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ ।

नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी २०आई टोलीमा छैनन् ।

प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन् । नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ । नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ । बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन् ।