images

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतपाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव–इन्जिनियर जयराम छत्याल, योजना शाखासमेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी र तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यंकन गराएको अख्तियारको दाबी छ ।

यस्तै अदानचुली गाउँपालिका वडा–३ का वडाध्यक्ष दत्त विष्ट, उप–प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

यसैगरी ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी विगो मागदाबी माग दाबी गरिएको छ ।