images

केन्द्रीय सत्ता समिकरणकाे असरः गण्डकीमा माओवादी केन्द्रका मन्त्री बर्खास्त

काठमाडौं– केन्द्रमा सत्ता समीकरण बदलिएसँगै त्यसको प्रत्यक्ष असर प्रदेशसम्म पुगेको छ । केन्द्रको सत्ता समिकरण परिवर्तन भएसँगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्तमा परेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । पाण्डे केन्द्रीय सरकारबाट बाहिरिएकाे नेपाली कांग्रेसबाट मुख्यमन्त्री भएका हुन ।

संघमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । सबै मन्त्रालयको जिम्मा आफैले लिएका छन् ।