images

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा भक्तजनहरुको घुँइचो

काठमाडौं– आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा धुमधामका साथ पूजा, आराधना गरी मनाईंदै छ । महाशिवरात्रिको अवसरमा अराध्यादेव भगवान शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्य देव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।

बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै वटा ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

त्यसै गरि देशभरका विभिन्न शिवालयहरुमा भक्तजनहरुको बाक्लो भीड लागेको छ ।