images

राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार तय गर्दै माओवादी, नारायण दाहालमा प्रचण्डको जोड

काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार चयन गर्नका लागि बैठक बस्दै छ । बैठक आइतबार साँझ बस्ने गरि आव्हान गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति छ । यस्तै उपाध्यक्ष भने नेकपा एमालेलाई दिने निधो भएको छ ।

चार दलले हस्ताक्षर गरेर पत्र जारी गर्दै यस्तो सहमति भएको सार्वजनिक गरिसकेका छन् । अध्यक्षको निर्वाचन यही २९ गते हुँदैछ । एमालेबाट अध्यक्ष बनेका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिम्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भइसकेका छन् ।

अध्यक्षका पदका लागि तीन जनाको माओवादी नेताको नाम चर्चामा छ । स्थायी कमिटी बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र हालका राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको नाम चर्चामा छ ।

तर प्रधानमन्त्री प्रचण्डले आफ्नै नारायण दाहाललाई अध्यक्षको लागि अघि बढाउने मनसाय बनाएको उनी निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।