images

सङ्घीय निजामती विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं–सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती विधेयक पेस गरेका हुन् । प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न सङ्घीय निजामती विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए ।

विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए । त्यस क्रममा सांसद सुवालले उठाएका प्रश्नहरूको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री जोशीले सङ्घीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।

प्रतिनिधि सभामा गत फागुन २१ गते उक्त विधेयक दर्ता भएको थियो । प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल अघि बढ्ने जनाइएको छ ।

लामो समयदेखि सङ्घीय निजामती विधेयक नहुँदा निजामती कर्मचारीहरू अन्यौलतामा परेका थिए ।