images

गठबन्धनको कार्यदलले बुझायो शीर्ष नेतालाई न्यूनतम साझा कार्यक्रम

काठमाडौं– सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाइएको छ।

कार्यदलको टोलीले आज बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धनका शीर्ष नेताहरूसमक्ष न्यूनतम साझा कार्यक्रम बुझाएको हो।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझ्न माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले बालुवाटारमा भेला भएका थिए । यही फागुन २१ गते बनेको पाँच दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कार्यदल खटिएको थियो।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन्।