images

रविलाई कांग्रेसको सुझाव, गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी प्रकरणमा छानबिन गर्न सहयोग गर्नुहोस्

काठमाडौं–नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन सुझाव दिएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले उक्त कुरा बताएका हुन् ।
समितिमा आफ्नो धारणा राख्दै सांसद बडुले  सहकारी समस्या बढिरहेको भन्दै निकास दिनुपर्ने माग गरे । उनले पोखरा र बुटवलका सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने बताएका हुन् ।
उनले भने, पोखरा र बुटवललगायतका सहरकारीबाट ग्यालेक्सी टिभीमा १० करोड जति रकम गएको छ भन्ने छ । त्यसमा रवि लामिछानेको नाममा पनि जम्मा भएको भन्ने छ । हामीलाई अचम्म लाग्यो, त्यो व्यक्ति को हो ? नाम मात्रै मिल्या संयोग हो कि ? हाम्रो गृहमन्त्रीको पनि त्यै नाम छ, बडूले भने, उहाँ नै हो भने यसमा छानबिन भइरहेको छ । हामी स्पष्ट ढङ्गले छानबिन गर्छौँ भनिरहेको छ । छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री उहाँ नै हो भने निष्पक्ष छानब‍निका लागि, छानबिन सुरु गराइहाल्ने र नसकिन्जेलसम्म जिम्मेवारीबाट बाहिरिएर जानु पर्ने हो कि ।
सांसद बडुले अदालतमा पनि मुद्दा पुगिसकेको भन्दै फरार रहेकाहरूबारे प्रश्न गरेका थिए । उनले थप्दै भने, सहकारी पीडितहरूको गुनासो पनि व्यापक रूपमा लामो समयदेखि आइरहेको छ । अदालतमा पनि मुद्दा पुगिसकेको छ । प्रहरीले के अनुसन्धान गरिरहेको छ ?  यो मुद्दामा फरार भएका कसरी हुन् ? सल्लाहले हुन् कि ?  उनले भने,यसलाई स्पष्ट गर्न सकिने, गर्न मिल्ने जति गर्नुस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा विषय उठाइरहेको छ । धेरैजसो सहकारीहरूको जनताले निक्षेपकर्ताहरूले राखेको पुँजी कसरी अपचलन भयो ?
नेपाली कांग्रेसले सदनमा समेत रवि लामिछानेको राजीनामा माग्दै निरन्तर रूपमा सदनको ध्यानाकर्षण गरिरहेको छ ।