images

मेरा विरुद्ध दिएकाे जाहेरी समेत दर्ता भएको छैन: गृहमन्त्री लामिछाने 

काठमाडौं–गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफू विरुद्ध दिएको जाहेरी दर्ता समेत नभएको दाबी गरेका छन्।
बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै  गृहमन्त्री लामिछानेले उजुरी दर्ता नभएको जिकिर गरेका हुन्।
बैठकमा सांसदले पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए। सांसदहरूले गृहमन्त्री लामिछाने विरुद्ध दिएको उजुरीका विषयमा प्रश्न गरेका थिए।
त्यसको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सूर्य दर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको प्रस्ट पारे। उनले भने,“जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन। न हस्ताक्षर छ न ल्याप्चे छ। न मैले निवेदन दिएको छु न मेरो सामान्य केवाईसी भरिएको छ । ”
आफू विरुद्ध अनुसन्धान भइरहेको भन्ने विषयमा पनि कुनै जानकारी नभएको उनले बताए। “न मैले कुनै पत्र पाएको छु न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ,” गृहमन्त्री लामिछानेले भने। सहकारीको रकम हिनामिनाको मुद्दा अदालतमा विचाराधीन रहेको उनले उल्लेख गर्दै उनले भने, “त्यो मुद्दा अदालतमा दर्ता भएको छ, अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । ”