images

एमडिएमएसमा ९१ करोड ९८ लाख भ्रष्टाचार: दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं–मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसार प्राधिकरणका पूर्व अध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायत २० जना विरुद्ध एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

त्यस्तै अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालालाई पनि विपक्षी बनाएको छ । आयोगले प्रतिवादीविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेट वक्तव्यमा भन्सारबाट चोरी भई नेपालमा ल्याउने मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । १ साउन २०७२ देखि प्रणाली कार्यान्वयन गर्न तयारी भएको थियो । तर विभिन्न कारण ढिला भई २०७५ मा मात्रै प्रक्रिया अघि बढेको थियो ।

एमडीएमएस खरिदकै लागि प्राधिकरणले छुट्टै विनियम बनाएको थियो, जसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको छानबिन समितिले विवादास्पद भन्यो । करिब ६ महिनामा सम्पन्न हुनुपर्ने काम अहिलेसम्म हुन नसकेको भनी छानबिन समितिले संलग्नहरूमाथि चरम लापरबाही गरेको र गैर जिम्मेवार बनेको आरोप लगाएको छ ।