images

रास्वपाको चर्को आलोचना गर्ने स्वतन्त्र मेयर हर्कले भेटे रवि

काठमाडौं–काठमाडौं आइपुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

इलाम–२ को उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको चर्को आलोचना गरिरहेका साम्पाङले आइतबार मन्त्रालयमै पुगेर गृहमन्त्री लामिछानेलाई भेटेका हुन् । इलाम–२ मा रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बूलाई टिकट दिएको छ । उता साम्पाङले भने पहिचानवादी भन्दै इलाम–२ मा डकेन्द्रसिंह लिम्बूलाई समर्थन गरेका छन् ।

गृहमन्त्रीसँगको भेटमा साम्पाङले धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गरेका छन् । गृहमन्त्री लामिछानेले साम्पाङले उठाएका माग सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।