images

सहकारी ठगी प्रकरणमा रास्वपाका अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि मुछिए

काठमाडौं–सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि रकम दुरुपयोग गरिएको आरोप लागिरहँदा सोही पार्टीका अर्का उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्याल पनि सहकारी ठगीमा मुछिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँ बढी रकम फिर्ता नपाएको भन्दै गुनासो गरेका छन् । सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ। अर्याल मात्र नभएर रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सो सहकारीको सञ्चालक थिए। अर्याल उपाध्यक्ष हुँदा सहकारीको अध्यक्ष सूर्य गुरुङ थिए।

अर्याल उपाध्यक्ष छँदै २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए। सहकारीबाट रकम नपाएपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए। सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यवसायी साझेदार जिबी राईलाई सहकारीमा भित्र्याएर २०७९ मा अर्याल बाहिरिएका थिए। राजनीतिमा सक्रिय भएपछि उनले सहकारी छाडेका थिए।

उक्त विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभाको बैठकमा समेत आवाज उठाएको छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कुरा राख्दै सांसद सांसद रामकृष्ण यादव प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशङ्का बढेको बताए।

उनले भने,’ सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्दा तपाईँकै हितमा हुन्छ। संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार छन्। यस विषयमा छानबिन भएर सत्य तथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् । छानबि हुनुपर्छ त्यसको लागि समिति आवश्यक छ। अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रम मन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रम मन्त्री लगायतको हो भन्ने आरोप छ।’