images

वामपन्थीलाई एकै ठाउँमा ल्याउन समीकरण फेर्ने जोखिम लिएको हुँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि जोखिम लिएको बताएका छन् । मङ्गलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको समेत बताए । उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताए । उनले अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे ।

 

उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भई र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण स्पष्ट पारे । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताए । उनले संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताए । उनले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।

 

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिलकुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौती देख्दादेख्दै पनि चालिएको कदम हो । यसका विरुद्ध एउटा तप्का निकै नै विक्षिप्त भएको देखिन्छ । तर पनि जनता र राष्ट्रको पक्षमा यो कदमले अन्ततः जनतालाई डेलिभरी दिँदै जाँदा सबैले बुझ्ने गरी स्थापित हुन्छ । संविधानको पनि यहाँ धेरै कुराहरू भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ । नेपाल मात्रै त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, देशभक्तहरू राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिन्छ ।’

 

प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको बताए । उनले समाजवादको जन्म अन्ततः सडकबाटै भएको बताए।