काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । राजीनामा नदिने अडानमा रहेका मुख्यमन्त्री शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोन निर्देशनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको हुन ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो ।
तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए । उनले केही बेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने जनाइएको छ ।