images

प्रचण्डको दबाबका कारण कर्णालीका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं–कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले राजनीतिक समीकरणमा आएको परिवर्तनका कारण आफूले पदबाट राजीनामा दिएको बताए । विश्वासको मतका लागि प्रदेश सभामा जानकारी गराएको भए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको दबाबका कारण उनले पदबाट राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार थिएनन् ।

तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए ।

मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधवार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।
शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।