images

सर्लाहीमा एक  वृद्ध महिलाको निर्ममतापूर्वक हत्या, एक जना पक्राउ 

सर्लाही– सर्लाहीमा एक वृद्ध महिलाको निर्मलतापूर्वक हत्या भएको छ । झन्डै १० किलो धानको विषयमा सर्लाही बागमती नगरपालिका वडा नम्बर–४ जङ्गल टोल बस्ने बौधु महतोकी  श्रीमती ७० वर्षीया पार्वती कुमारी महतो हो हत्या भएको प्रहरीले जनाएको छ ।

वृद्ध महिलाको हत्या गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिका वडा न–५ नरकटिया बस्ने विक्रम चौधरीका  छोरा अन्दाजी ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी चौधरीलाई सार्वजनिक गरेको हो ।  सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दया निधी ज्ञवालीका अनुसार आरोपित प्रमोद झा भन्ने विक्रम चौधरी कुलतमा लागेको र सोही कुलतका कारण मृतकको घरमा रहेको धान लुट्ने क्रममा हत्या भएको बताए ।

चौधरीले वृद्ध महिलाको टाउकोमा  काठको मुढो प्रहार गरी हत्या गरेको ज्ञवालीले बताए ।  बागमती नगरपालिका वडा न.४ स्थित घिमिरे चौकमा रहेको किराना पसलमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा मृतकको घरमा रहेको धानको सेतो बोरा बोकी सोही किराना पसलमा बिक्री गर्न गएको तर पसलवालाले खरिद नगरेपछि सो बोरा बोकी जाँदै गरेको देखिएको थियो । चौधरीले बोकेको उक्त धानको बोरा मृतकको कोठामा रहेको ७ वटा धानको बोरा मध्ये १ बोरा रहेको खुल्न आएकोले प्रहरीले जनाएको छ ।

हत्या आरोपित चौधरीलाई बुधवार बिहान बागमतीको नहर हुँदै रौतहटतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको लागि जिप्रका सर्लाहीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सेतो बोरामा राखिएको ९ किलो ४४० ग्राम धान,हत्यामा प्रयोग भएको काठको मुढो र एउटा लोटा समेत बरामद गरेको छ।