images

विराट गोल्डकप सेमिफाईनल प्रतियोगिको उपाधिका लागि मच्छिन्द्र र सांग्रीलाबीच भिडन्त हुँदै

नवीन कर्ण
काठमाडौं– आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकालागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफएबीचको भिडन्त हुने भएको छ ।

बिहीबार राती विराटनगरको सहिद मैदानमा सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई इन्जुरी टाइममा १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासँगको उपाधि भिडन्त पक्का गरेको हो । अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो हाफमा मैदान छिरेका मनिष डाँगीले निकालिदिएको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टोलीलाई फाइनलमा पु¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए । हारपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएका कारणले सेमिफाइनलमा हार व्यहोर्नु परेको बताए ।

जितपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएका कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबावमा राख्न सफल भएको बताए । अन्तिम सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ पक्ष कमजोर नै रह्यो । सिक्किमका खेलाडी आदर्श तामाङले खेल सुरु भएको ९ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार बाहिरिएको थियो ।

२८ औं मिनेटमा सिक्किमका आदर्शले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो । ३२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एन्डे«सले डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । त्यसलगतै एन्डे«सले गरेको प्रहार फ्रेममा पर्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा मनिष श्रेष्ठमार्फत प्राप्त भएको लामो प्रहारलाई हिसुप थपिलियाको पोष्टतर्फ पठाएपनि सिक्किम गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे । जसका कारण पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिने अवसर चुकाउनु पर्यो ।

५२ औं मिनेटमा मच्छिन्द्रका एन्डे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ आंै मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । मच्छिन्द्रका विदेशी खेलाडी ओमालाजा करिमले ८५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको उत्कृष्ट हेडिङ बारमाथिबाट बाहिरिएको थियो । ८९ औं मिनेटमा सिक्किमका आदर्शले डिफेन्डरलाई क्रस गरेर निकालेको बल पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिंदा गोलको अवसर चुकाउनु परेको थियो ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वत्कृष्ट हुने खेलाडीले मोटरसाइकल पाउनेछन ।