images

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने घोषणा

काठमाडौं– नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने घोषणा गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको उनको भनाइ छ ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब २ सय व्यवसायी रहेको बताए । दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन लागेको उनको भनाइ छ ।

उता जिल्ला प्रहरी परिसर काठमाडौंले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने उनको भनाइ छ ।