images

निलम्बित न्यायाधीश गिरी कारागार चलान 

काठमाडौं– निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।  सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार कारागार पठाउन आदेश गरेको हो ।

वैवाहिक बलात्कारको आरोप लागेका गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमै विष सेवन गरेपछि २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।

यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । गत चैत २१ गते सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गर्दै थुनामा राख्न आदेश दिएको थियो । ‘पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टियर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धविच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ,’ सर्वोच्चका न्यायाधिशद्वयको आदेशमा भनिएको छ, ‘सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वाभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।’

रावल र गिरीले ०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालिन् । कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो ।

वैवाहिक बलात्कार प्रमाणीत भएमा गिरीले पाँच वर्ष कैद सजाय भाेग्रु पर्ने छ ।