images

शिक्षकहरूलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छुः मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुने उद्घोष गरेकी छिन् । उनले शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम बन्ने बताएकी हुन् ।

मन्त्री श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन समेत सचेत गराएकी छिन् । उनले भनिन्,‘जति पनि यो दलीय राजनीतिकरणको जर्जरमा हामी परेका छौ । सम्पूर्णमा आग्रह छ–शिक्षकहरू, विद्यालय व्यवस्थापनका साथीहरू, अब यो दलीय राजनीतिकरणले ग्रसित हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ । यसमा म निर्मम भएर लाग्ने पनि छु । यसमा अलरेडी यो कानुन बनाउने कुरा पनि होइन । यो त कार्यान्वयनको पाटो हो । त्यसमा म निर्मम भएर लाग्छु पनि । र मैले पहिले पनि आह्वान गरेको थिएँ । र आज पनि भन्छु–दलीय राजनीतिकरणबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्यो । शिक्षकहरूले राजनीतिक कार्यक्रममा होइन कि विद्यालयको कक्षा कोठामा, चौरमा आफ्नो विद्यार्थीहरूलाई राम्रो गरेको विद्यार्थीलाई झन् राम्रो गर्न, पाठ्यक्रमभन्दा बाहिरको कुरा सिक्न अथवा जुन विद्यार्थीहरू पछि परेका छन् । विद्यालय समय पछि पनि विद्यार्थीहरूलाई राम्रो गर्न ढाडस दिने हो कि रु त्यसका लागि म अनुरोध गर्न चाहन्छु ।’

मन्त्री श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिन् । स्थानीय तह, शिक्षा सेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरूलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव नभएकाले यसमा सबैको सहयोग आवश्यक रहेको तर्क व्यक्त गरिन् । मन्त्री श्रेष्ठले विद्यालय तहको शिक्षालाई केन्द्रित गरेर सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने योजना समेत घोषणा गरेकी छन् । सबै बालबालिकाहरूको विद्यालयमा सहभागिता र गुणस्तरको सुनिश्चितता गर्ने कुरालाई सरकारले मूल नारा बनाएर अघि बढेको र त्यसका लागि आवश्यक सुझाव लिन आफू सहितका शिक्षा मन्त्रालयका कर्मचारीले हरेक विद्यालयका प्रधानाध्यापकसँग फोन संवाद गर्ने कार्यक्रमलाई अघि बढाइएको बताइन् ।