images

कोसीमा मुख्यमन्त्री हटाउन गठबन्धनको सङ्कल्प प्रस्ताव दर्ता, मुख्यमन्त्री कार्कीको पद धरापमा !

काठमाडौं– कोसी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्न एमाले–माओवादी केन्द्र गठबन्धनले सङ्कल्प प्रस्तावलाई अस्त्र बनाएका छन् । बिहीबार सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले सङ्कल्प प्रस्ताव पेस गरे । गठबन्धनले मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेकाले सङ्कल्प प्रस्ताव पारित हुनु अगावै राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव दिए । प्रदेशसभा बैठकमा पनि बहुमत सांसद प्रतिपक्षीको कुर्सीमा बसेका थिए ।

संविधानको अन्तिम विकल्पको रूपमा धारा १६८ को ५ अनुसार नियुक्त भएका कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको पद सङ्कटमा छ । उनी गठबन्धन दलको घेराबन्दीमा परेका छन् । संविधान त २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भए पनि कुनै दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, धारा १६८ को उपधार ५ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेशसभा विघटन हुने व्यवस्था उपधारा ७ मा छ । यही संवैधानिक व्यवस्थालाई देखाएर मुख्यमन्त्री कार्की पद छाड्ने पक्षमा छैनन् । तर, गठबन्धन दलले भने सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार सरकार बन्ने अवस्था रहेसम्म प्रदेशसभा विघटन नहुने दाबी गर्दै आएका छन् । साथै आफूहरूसँग सरकार गठनका लागि आवश्यक सङ्ख्या रहेको गठबन्धनको दाबी छ । यसैबिच गठबन्धन दलले बिहीबार सुरु भएको प्रदेशसभाको अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता पेस गरेका छन् । प्रस्ताव पेस गर्दै एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले संसद्को सर्वोच्चता देखाउन सङ्कल्प प्रस्ताव पेस भएको तर्क गरे । सङ्कल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसद्को विशेष अधिकार हैनन् भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने उनको चेतावनी छ ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको प्रमुख सचेतक भण्डारीको दाबी छ । संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न नमिल्ने भन्दै उनले मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव दिए । सङ्कल्प प्रस्तावको समर्थन गर्दै नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेतीले फेरिएको परिवेशमा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने तर्क गरे ।

सङ्कल्प प्रस्तावमाथि प्रदेशसभामा शुक्रवार छलफल हुने छ । शुक्रवार नै सङ्कल्प प्रस्ताव पास गर्ने तयारी गरिएको छ। सोमबार दर्ता भएको सङ्कल्प प्रस्तावको भाषामा मुख्यमन्त्री कार्कीले असहमति जनाएपछि बुधवार २ दलले सङ्कल्प प्रस्तावको भाषालाई परिमार्जन गरेका थिए ।

परिमार्जन गरिएको सङ्कल्प प्रस्तावमा कोसी प्रदेश सरकारमा सहभागी एमाले र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा समर्थन फिर्ता लिएको मिति २०८० चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीलाई निर्देशन गर्न माग गरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नियमित अधिवेशन जेठ ११ गतेका लागि सिफारिस गरेकोमा प्रदेश प्रमुख परशुराम खापुङले सङ्कल्प प्रस्ताव पेस गर्नका लागि बिहीबारका लागि अधिवेशन बोलाएका हुन् । यसअघि नेकपा एमाले र नेकपा माओवादी सहितका ५२ जना प्रदेश सभा सदस्यले प्रदेश प्रमुख समक्ष अधिवेशन बोलाउन माग गरेका थिए । यसैबिच एमालेले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।