images

विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न, बेहुलीको नाममा जनही ११ हजारको मुद्दती खाता

विराटनगर–विराटनगरमा १५ जोडी युवायुवतीको सामूहिक रूपमा विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा स्थानीय अतिथि सदनमा आदिवासी समुदायका युवायुवतीको सामूहिक विवाह सम्पन्न भएको हो ।

विराटनगरको अतिथि सदनमा १५ जोडीको आफन्त,जनप्रतिनिधि ,सामाजिक अभियन्ता लगायतको उपस्थितिमा विवाह सम्पन्न भएको हो । विपन्न तथा पिछडिएका समुदायको उत्थानको क्षेत्रमा काम गर्दै आएको महेश्वरी महिला मञ्चले आयोजना गरेको सामूहिक विवाहमा अतिथिहरू भरिभराउ भएका थिए । झापा र मोरङका १५ जोडीको विवाहका लागि बेग्लाबेग्लै विवाह स्थल र मण्डप बनाइएको थियो भने विवाह सम्पन्न गराउन पुरोहित आमन्त्रण गरिएका थिए । उत्सवको माहौलमा उनीहरूको विवाह सम्पन्न भएको हो । विवाहमा सहभागी मोरङका बेहुला विजय मर्डी र झापाकी बेहुली रेनुका सत्ताले सामूहिक विवाहमा सहभागी भएर विवाह गर्न पाउँदा खुसी व्यक्त गरिन् । अभिभावकको आर्थिक अवस्था कमजोर हुनेका लागि सामूहिक विवाह उपयुक्त भएको बेहुली रेनुकाको भनाई छ ।

विवाह स्थल नजिकै वर बधू पक्ष तथा आमन्त्रित समेतका लागि ५ सय जनाको भोज भतेरको समेत व्यवस्था गरिएको थियो । मण्डप नजिकै विवाह सम्पन्न भएपछि नयाँ जोडीलाई घरजमका लागि प्रदान गरिने लुगाफाटा,भाँडा बर्तन,दराज,पलङ सहितका फर्निचर र खाद्यान्न लगायतका सामाग्री राखिएको थियो । आयोजक समितिले एउटा विवाह र विवाहपछि घरजम गर्न आवश्यक पर्ने सबै सामानको जोहो गर्नुका साथै उत्सवको वातावरण निर्माण गरेर युवा जोडीको सामूहिक विवाह सम्पन्न गराएको हो । विवाहमा सहभागी बेहुलालाई लुगाफाटाका साथै बेहुलीलाई सुनको तिलहरी,नाक तथा कानको सुनकै गहना र चाँदीको पाउजु लगायत आवश्यक सबै सामान उपहार दिएको छ । त्यति मात्र नभई १५ जना बेहुलीको नाममा ५ वर्षपछि झिक्न मिल्ने गरी जनही ११ हजार राशिको मुद्दती खाता समेत खोलिदिएको छ ।

विवाहत्वमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की,जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साह समेत सहभागिता जनाएका थिए । उनीहरूले सामूहिक विवाहको अवधारणा प्रशंनिय रहेको र यसबाट विपन्न समुदायका अभिभावकलाई ठुलो राहत मिलेको बताए ।

सामूहिक विवाह सम्पन्न गराउन आयोजक संस्थाका साथै समाजसेवीहरूबाट स्वइच्छाले सहयोग सङ्कलन गरिएको जनाइएको छ । विवाह सम्पन्न गर्न झन्डै २५ लाख रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ । ६ महिनादेखिको चाँजोपाँजोपछि सामूहिक विवाह सम्पन्न गर्न सकेको आयोजक समितिले जनाएको छ ।