images

लगानी सम्मेलनका लागि १४८ वटा परियोजना सम्बन्धि प्रस्ताव तयार

काठमाडौं– लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजना सम्बन्धि प्रस्ताव तयार पारेको छ ।

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट उक्त सम्मेलनका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदै छ ।

निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको सो प्रस्ताव बोर्ड बैठकमा पेस गरिएको बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार त्यसमा केही परियोजनाहरू छुटेको तय थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका थिए । त्यसै गरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानी सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । बिना स्वीकृति थप लगानी भित्रिएकाले थपिएको अन्योलतालाई चिर्ने काम बोर्ड बैठकले गरेको पनि बोर्डका प्रवक्ता उपाध्यायले बताए ।

ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो । त्यसमा लगानी गर्नु अघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसै गरी डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेस्टमेन्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारले लगानीका लागि आवश्यक कानुनी व्यवस्था गर्दै लगेको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरेको लगानी बोर्डले जनाएको छ ।