images

उपनिर्वाचनको सुरक्षा तयारी पूरा, भोलि मतदान हुने

काठमाडौं– इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा भोलि (शनिवार) हुने उपचुनावको लागि सुरक्षा व्यवस्थापनको काम पूरा भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार उपचुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

चुनावको क्रममा देखिन सक्ने सुरक्षा चुनौतीलाई सूक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको बताए। प्रहरीले मतदाता र मतदान स्थलदेखि मतगणना स्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको प्रहरीको भनाइ छ ।

उपचुनावका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अति संवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिएको छ । प्रहरीले अति संवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

यस्तै बझाङमा ३२ केन्द्रलाई अति संवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिइएको प्रहरीले जनाएको छ ।