images

 सहकर्मीको श्रीमतीमाथि बलात्कार गरेको आरोपमा वरिष्ठ उपसचिवविरुद्ध बलात्कारको मुद्दा दर्ता

धनुषा– मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव तहमा कार्यरत रुपेश कुमार साहविरुद्ध बलात्कारको आरोप लागेको छ । बलात्कारको आरोप लागेसँगै साह फरार भएका छन् ।  उनी प्रहरीको फरार सुचीमा छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कार्यरत सहकर्मीको श्रीमतीमाथि डर धम्की देखाउँदै पटक पटक बलात्कार गरेको उनीमाथि आरोप छ । २ महिनादेखि कार्यालय समेत नआएका साहलाई अहिले धनुषा प्रहरीले खोजी गरिरहेको छ ।

साहले  गत माघ १८ गते मधेश प्रदेश सरकारको कर्मचारी क्वाटरको एउटै तल्लामा बस्ने सोही कार्यालयमा कार्यरत सहकर्मी घर नभएको मौका पारी नशालु पदार्थ मिलावट गरी बलात्कार गरेको आरोप छ ।  भगवानको प्रसाद भन्दै खान दिएको र बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाको आरोप छ । पीडित महिलाले गत चैत ३० गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषामा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । उनको मुद्दा भने ४ दिन पछि अर्थात् २०८१ वैशाख ३ गते मात्रै दर्ता भएको थियो ।

 आरोपित साहले घटनाकै क्रममा भिडियो फोटो समेत खिची सो सामाग्री अरूलाई देखाइदिने डर धम्कीसहित पटक पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । घटनापछि गत फागुन १८ गते कार्यालयबाट बिदा लिएका आरोपित साह भने  बिदा भुक्तान भइसकेपछि पनि सम्पर्कमा नआएको मुख्यमन्त्री कार्यालयका सचिव अर्जुन् गौतमको भनाई रहेको छ ।

अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्यमन्त्री कार्यालयलाई प्रतिवादी साहबारे आवश्यक सूचना उपलब्ध गराउन पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भने अनुसन्धानका क्रममा अदालतमा रहेको मुद्रामा केही बताउन नमिल्ने प्रतिक्रिया दिए । जबरजस्ती करणीबाट महिलाको पेटमा आरोपित शाहको गर्भ समेत रहन गएको जाहेरीमा उल्लेख छ ।