images

गाजामा युद्धविरामको पहल, इजिप्टको मध्यस्थकर्ता टोली इजरायल प्रस्थान

काठमाडौं । गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ ।

‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको इजरायली सरकारनिकट स्रोतलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन् । दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ । तर हमास पक्षले रफाहमा कुनै पनि प्रकारको आक्रमणबाट वार्तालाई नै खतरामा पार्ने सङ्केत गरेको छ ।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताउनुभएको छ । मुख्यगरी कतार, इजिप्ट र अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर गएको नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिनुबाहेक त्यसपछि अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन । त्यसबेलमा इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गएको हप्ता युद्धविरामको पहलबारे कतारले आफ्नो भूमिकाको पुनरावलोकन गरिरहेको बताएका थिए । गएको अक्टोबर ७ तारिखमा हमास लडाकु समूहको आक्रमणपछि युद्ध शुरु भएको थियो ।