images

इलाम-२ उपनिर्वाचनः प्रमुख ४ प्रतिस्पर्धीले गरे मतदान

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा प्रतिस्पर्धामा रहेका प्रमुख दलका उम्मेदवारहरूले मतदान गरेका छन् ।

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहितका उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरे ।

त्यस्तै नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका डम्बर खड्काले पनि भोट हालेका छन् । उनले पनि सुहाङले भोट हालेकै मतदान केन्द्र इलाम बजारस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरे ।

त्यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण मावि मतदान केन्द्रबाट भोट हालेका छन् ।

त्यस्तै पहिचानवादी तर्फका उम्मेदवार डकेन्द्र थेगिमले पनि मतदान गरेका छन् । फाकफोथुम गाँउपालिका सिंहदेवी मावि आमचोक केन्द्र पुगेर उनले भोट हालेका हुन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ एवं तत्कालीन प्रतिनिधिसभा सदस्य एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त यस क्षेत्रमा आज उपनिर्वाचन भइरहेको हो ।

इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।