images

ब्लिन्केनको चीन भ्रमणः अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको चेतावनी

काठमाडौं । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

भेटमा अमेरिका र चीनबीचको मतभेदलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने विषय प्राथमिकतामा परेको छ । चिनियाँ राष्ट्रपतिले अमेरिका र चीन प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्नेमा जोड दिएको खबरमा उल्लेख छ ।

बेइजिङमा राष्ट्रपति सीसँगको भेटअघि चीनका विदेशमन्त्री वाङ यीसँग पनि ब्लिन्केनको भेटवार्ता भएको थियो । चीन–अमेरिका दुई देशको सम्बन्ध अहिले स्थिर रहेको र थप बिग्रन नदिनेबारे उहाँहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताएका छन् । उनले आफ्ना अमेरिकी समकक्षी ब्लिन्केनलाई चीनको मामिलामा अमेरिकाले ‘सीमा नाघ्न नहुने’ बताएको बीबीसीले उल्लेख गरेको छ । चीन र अमेरिकाबिच अहिले पनि विभिन्न विषयमा तनाव कायमै छ ।

अमेरिकी संसद्ले चिनियाँ स्वामित्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै उनले बेइजिङको भ्रमण गरेका हुन्। अमेरिकी विदेशमन्त्री ब्लिन्केन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणका क्रममा चीन पुगेका हुन् ।

औपचारिक भेटघाटपछि ब्लिन्केनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।