images

रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने

काठमाडौं– नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । तेस्रो नेपाल लगानी सम्मेलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रा.लि.का तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नुभयो । समुन्द्र सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने बताइएको छ ।