images

कोशीका मुख्यमन्त्री कार्कीलाई कारबाही गर्ने चेतावनी 

काठमाडौं–सत्ता गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ ।

एमाले र माओवादी केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रमुख सचेतक रेवती रमण भण्डारीले प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावबारे राय दिनु र विरोधमा बोल्नु संविधानको धारा १८७ ९२० विपरीत भएको बताए । प्रदेश सभाले ७ वैशाखमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने सङ्कल्प प्रस्ताव पास गरेको थियो । साथै मुख्यमन्त्रीले विश्वासको मत नलिने र राजीनीमा पनि नदिए नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखलाई सन्देश दिने उल्लेख थियो ।

तर मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेकाले समर्थन फिर्ता हुन नसक्ने भएकाले विश्वासको मत नलिने अडान लिएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई संविधान विपरीत नयाँ सरकार गठनको प्रक्रिया अगाडि नबढाउन लिखित आग्रह नै गरेका छन् । तर एमाले प्रमुख सचेतक भण्डारीले भने सङ्कल्प प्रस्तावविरुद्ध राय दिनु वा बोलेर प्रदेश सभाको विशेष अधिकारको हनन भएको दाबी गरे ।

आफ्नो विशेषाधिकारको हननमा प्रदेश सभाको आगामी बैठकले कारबाही गर्न सक्ने उनले बताए । संविधानको धारा १८७ मा प्रदेश सभाको विशेषाधिकारसम्बन्धी व्यवस्था छ, जसको उपधारा २ मा संविधानको अधिनमा रही आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार प्रदेश सभालाई हुने उल्लेख छ । उपधारा ७ मा विशेषाधिकार हननलाई प्रदेश सभाको अवहेलना मानिने उल्लेख छ भने र ८ मा अवहेलनामा सचेत गराउने, नसिहत दिने वा तीन महिनामा नबढ्ने गरी कैद वा १० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।