images

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज एक दिने नेपाल भ्रमणमा आउँदै छिन्।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा नेपालको औपचारिक भ्रमणमा आउन लागेकी हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा छलफल हुनेछ । हालै भारत, कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको श्रृङ्खला माझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो ।

जापानका परराष्ट्रमन्त्री कामीकावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूची अन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लागेकी हुन् ।

उनी कोलम्बोबाट काठमाडौं आउने र बेलुका नै काठमाण्डौबाट स्वदेश फर्किने कार्यक्रम छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि कामीकावाको यो पहिलो नेपाल भ्रमण हो । अहिले जापानमा एक लाख ६० हजारभन्दा धेरै नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका तथ्याङ्क छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पनि पुग्दैछ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ तारिखमा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो ।