images

एमाले भोजपुरको पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन, अध्यक्षमा खड्का निर्वाचित

भोजपुर–नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर बहादुर खड्का निर्वाचित भएका छन् । नेकपा एमाले भोजपुरको ९ औँ अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का तीन सय १५ मत ल्याएर अध्यक्ष विजयी बन्ने भने उनका प्रतिस्पर्धी पूर्व अध्यक्ष शरणकुमार राई दुई सय ५३ मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा तीन सय २० मत ल्याएर किरण राई विजयी बनेका छन् । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा राई विजयी बनेका हुन् । शेर्पा दुई सय १६ मत ल्याएर पराजित बने ।

यता सचिवमा तीन सय ४५ मत ल्याएर एक्सन राई निर्वाचित भने उनका प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले एक सय ७३ मत ल्याएर पराजित बन्न पुगे । त्यस्तै उपसचिव खुल्ला तर्फ दुई सय ९५ मत ल्याएर दौलथकुमार कुलुङ विजयी भने एक सय ७० मत ल्याएर जगत बहादुर चौहान पराजित बने ।

त्यसैगरि उप सचिव महिला तर्फ दुई सय ९४ मत ल्याएर रमादेवी राई विजयी बनिन् भने दुई सय १६ मत ल्याएर मेरिका राई पराजित बनिन् ।

नयाँ नेतृत्व चयनका भोजपुरका ८१ वटा वडाका छ सय आठ प्रतिनिधि मध्ये पाँच सय ७३ जनाले मतदान गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुल्ला सदस्य र तीन खुल्ला महिला सदस्यमा निर्वाचन गरिएको हो ।

जिल्लामा पदाधिकारी छान्नका लागि एमाले भोजपुरमा पहिलो पटक निर्वाचन भएको हो । अधिवेशन वैशाख २० गतेबाट भोजपुर सदरमुकाम सुरु भएको थियो ।