images

संविधान अझै पूर्ण भएको छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान अझै पूर्ण नरहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको छु । आजको यस घोषणाले सङ्घीय सरकारले लागू गरिसकेको नेपाल संवतको कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरूलाई पनि संविधानले व्यवस्था गरेबमोजिम प्रादेशिक कानुनहरू निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशा बोध गर्नेछ । नेपाली जनताको त्याग र बलिदानको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकसहितको संवैधानिक व्यवस्था भएको छ उनले भने, यद्यपि वर्तमान संविधान पनि अझै यसलाई पूर्णता दिन बाँकी छ । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ । इमान्दार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्री दाहालले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।