images

अमेरिका र क्यानडा पठाउने प्रलोभनमा पारी साढे पाँच करोड ठगी गर्ने ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं–अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेका सिन्धुपाल्चोकका ४७ वर्षीय टासी शेर्पा, ४२ वर्षीया ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पालाई सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको उनको भनाइ छ ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा श्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको पनि बताए । काठमाडौं महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बि।क।समेतका केही व्यक्तिहरूलाई पनि हुन्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ पर्नेमा वर्ष २८ का समीर सुनार र वर्ष २९ का मिलन बि।क। रहेका छन् । दुवै जना रुपन्देही सियारी गाउँपालिका ७ का हुन् । उनीहरूको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको प्रहरीले जनाएको छ ।