images

चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कुल १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो गत आर्थिक वर्षको तुलनामा १९ दशमलव ८ प्रतिशतले धेरै हो । राष्ट्र बैङ्कद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आ प्रवाह बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २५ दशमलव ४ प्रतिशतले बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति बढेर चैत मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२ दशमलव ५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता १ अर्ब ३५ करोडले बचतमा रहेको छ । यस्तै अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । पुँजीगत ट्रान्सफर १९।२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १२ हजार ७२१ रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा खुद ट्रान्सफर १७ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । राष्ट्र बैङ्कका अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ६१ प्रतिशतमा खुम्चिएको छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७ दशमलव ७६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५ दशमलव २१ प्रतिशत छ भने गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४ दशमलव १४ प्रतिशत छ ।