images

 काठमाडौंका महानगरपालिका मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं– कान्स फिल्म फेस्टिभलको ७७ औँ शृङ्खलामा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर शाह फेस्टिभलमा सहभागी हुन मङ्गलवार बिहान २ः१५ बजेको विमानबाट फेस्टिभलका लागि प्रस्थान गरेका हुन् । प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल समेत सहभागी भएका छन् ।

उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेको मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले स्पेस समाचारलाई जानकारी दिए।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ कार्यक्रम रहेको छ । फेस्टिभलको रेड कार्पेट र प्रिमियम कार्यक्रममा मेयर शाह सहभागी हुने भएका छन् । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको मेयर बजगाईँले जानकारी दिए ।

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन ९युनेस्को०ले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप नाम सार्वजनिक गरेको थियो । काठमाडौं महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । जसमा चलचित्र विधामा ५ वटा थपिएका छन् । यससँगै चलचित्र सहरको सङ्ख्या २६ पुगेको छ ।

यस वर्ष सञ्जालमा जोडिएका सहरमा चलचित्रसँगै सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा छन् ।

यस वर्ष चलचित्र विधामा छानिएका सहरहरूमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, ब्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।

सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य बेलायतको व्राडफोर्ड हो । यो सन् २००९ मा छनोट भएको हो । सन् २०१० मा अष्टेलियाको सिड्नी छानियो । सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए । जसमा दक्षिण कोरियाको बुसान, आयरल्यान्डको गल्बे र बुल्गेरियाको सोफिया छन् । सन् २०१५ मा ३ वटा सहर छानिए । जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र ब्राजिलको सान्तोस छन् ।

सन् २०१७ मा संयुक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्यान्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरे सा र जापानको यामागाता गरी ५ वटा नगर छानिए । सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वासिङ्टन गरी ५ वटा सहर छानिएका हुन् । सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्यान्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन् ।