images

सिरहामा बम विष्फोटः चार घरमा लुटपाट, पाँच जना घाइते

सिरहा– सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम विस्फोट गराएर ४ जनाको घरमा लुटपाट भएको छ ।

सोमबार राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी चार जनाको घरमा लुटपाट गरेका हुन् । स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट गरिएको छ ।

लुटेराहरूको समूहले नगद र सुनचाँदीका गरगहना गरी करिब ५ लाख बराबरको सम्पत्ति लुटेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार लुटेराले पड्काएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन् ।

घाइतेहरूको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ । अन्यको अवस्था सामान्य छ ।

डिएसपी सोतीले लुटेराले घटनाको विषयमा छानबिन गरिरहेको बताए । अहिले घटना गराउनेबारे केही नखुलेको उनको भनाई छ ।

लुटपाटबाट पीडित भएका परिवारलाई १र१ लाख रुपैयाँ सहयोग गर्ने लहान नगरपालिकाका मेयर महेश चौधरीले घोषणा गरेका छन् ।